विशेष गरी सास्कृतिक कार्यक्रम स्थलमा रमाइरहेका दर्शकको आखामा त्यतिबेला आशु छचल्कियो जतिबेला बद्री पंगेनीले मार्मीक गीत सँगै आफ्नो प्रस्तुती सुरु गरे । अतिथि कलाकारको रुपमा उपस्थित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष पंगेनीले सुरुमै गाएको गीतले सबैलाई एक छिन स्तब्ध बनायो । केहि डाको छोडेर रोए पनि । ‘आमा विदा पाँउदिन, अहिलेको साल पनि आमा घर आउदिन ’ बोलको गीत सँगै विदेशमा आफ्ना छोरा छोरी र आफन्त भएकाहरुको आखा रसाए । कतिपयले गायक पंगेनीलाई अंगालो हालेर रोएपनि । छोरा विदेशमा रहेको, आमाले स्वदेशमा दुःख पाएको मार्मिक कथासँग गासिएको यो गीत गाउदा गाउदै दर्शकको आखाबाट खसेको आसुमा पंगेनीको अनुहार पनि मलिन भयो ।
लगतै उनले एकल महिलाको ब्याथा सहितको ‘लाउ चेली सिन्दुर लाउ’ वोलको गीत गाए । त्यतिबेला पनि माहौल निकै स्तब्ध थियो । चाडपर्वको दिन दिनभर रमाएका दर्शकलाई उनले केहिबेर आफ्ना आफन्त, छोराछोरी र आफ्नो वास्तविकतामा डुबाए । आशुमा डुविरहेको माहौललाई तताउन भने उनलाई केहिबेर पनि लागेन ।
तत्काल ससुरालीमा, झ्याउरे गीत तथा पञ्चेवाजाको गीतले छमछम नचाउन सफल भए । अन्तमा गायिका सीता केसीसँगको दोहोरीसँगै उनले सबैलाई खुसी बनाएर घर फर्काए । झण्डै डेढ दशक देखि लोकदोहोरी क्षेत्रमा रहेका पंगेनीले नेपाली समाजका मार्मिक कथालाई आधार बनाएर धेरै गीत गाएका छन् ।